कैलाली कारागार झडप : आन्तरिक प्रशासनिक मतभेद कारण भएको अध्ययन प्रतिवेदन
धनगढी, ५ भदौ
कैलाली कारागारमा गत साउन २३ गते भएको झडप घटनाबारे छानबिन गर्न गठित समितिले कारागारभित्रको आन्तरिक प्रशासनबीचको मतभेद नै झडपको मुख्य कारण रहेको निष्कर्ष निकालेको छ । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले घटनास्थलको अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै कारागार प्रशासनको दुई ब्लकबीच देखिएको आन्तरिक द्वन्द्वकै कारण घटना भएको पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “घटनास्थलको अवलोकन, घाइते कैदीबन्दीसँगको कुरा, कारागारको वस्तुस्थिति, सुरक्षाकर्मी र प्रशासकसँगको छलफलबाट बुझ्दा ‘ए ब्लक’ र ‘बी ब्लक’ बीचको आन्तरिक मतभेदले नै झडप निम्त्याएको देखिन्छ ।”
जोशीका अनुसार घटनाबारे थप यथार्थ खुलाउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिन समिति आवश्यक देखिएको छ । उहाँले भन्नुभयो, “हामीले अध्ययन गर्दा सिसिटिभी फुटेज स्पष्ट देखिएन, घाइतेकै भनाइअनुसार संलग्न भनिएका कैदीहरूले संलग्नता अस्वीकार गरेका छन् । त्यसैले अझै प्रस्ट पार्न प्राविधिक विशेषज्ञसहित उच्चस्तरीय छानबिन समिति जरुरी छ ।”
समितिलाई १० दिनको समय दिइएको थियो र उक्त अवधिमा तयार गरिएको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाइएको छ । उक्त झडपमा एक कैदीबन्दीको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए । तीमध्ये तीन जनाको काठमाडौंमा अझै उपचार भइरहेको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत घाइतेमध्ये हालसम्म ४१ जना डिस्चार्ज भइसकेका छन् । उनीहरूमध्ये तीन जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ । अस्पतालले डिस्चार्ज गरे पनि धेरै कैदीबन्दी अझै अस्पतालमै बसिरहेका छन् । उनीहरूको इच्छा अनुसार अन्य कारागारमा स्थानान्तरण गरी व्यवस्थापन गर्ने काम भइरहेको सम्बन्धित निकायले जनाएको छ ।
घटनापछि सरकारले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता बोलाएर नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा कृष्णप्रसाद लम्साललाई खटाएको छ । यस्तै, कारागार शाखा प्रमुखमा पनि नयाँ अधिकारी नियुक्त गरिएको छ । करिब १५० कैदीबन्दी क्षमता भएको कैलाली कारागारमा हाल ६९७ कैदीबन्दी रहेका छन्, जसले कारागारमा क्षमता अभाव र व्यवस्थापन चुनौती अझै गम्भीर रहेको देखाएको छ ।

