धरान उपमहानगर समस्यामा : बजेट पारित नहुँदा विकासदेखि कर्मचारी तलबसम्म ठप्प

धरान (सुनसरी), ४ भदौ

लगातार एक महिनादेखि बजेट पारित नहुँदा धरान उपमहानगरपालिका समस्याग्रस्त बनेको छ । नगर प्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख इन्द्रविक्रम बेघाबीचको मतभेद तथा राजनीतिक समन्वय अभावका कारण चालु आर्थिक वर्षको बजेट अहिलेसम्म नगरसभाबाट पारित हुन सकेको छैन ।

बजेट पारित नहुँदा विकास निर्माण, कर्मचारी तलब, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सामग्री आपूर्ति, सडक मर्मत, फोहर व्यवस्थापनजस्ता सबै काम रोकिएका छन्।

राजस्व परामर्श समितिले करिब रु १ अर्ब ६० करोडको बजेट प्रस्ताव गरेको भए पनि प्रमुख–उपप्रमुखबीच श्रमदान कार्यक्रम, बजेट सिलिङ र प्रशासकीय निर्णयमा विवाद बढेपछि कार्यपालिका बैठक बस्न नसकेको हो।

धरानका प्रवक्ता सूर्यप्रसाद भट्टराईका अनुसार २० वटै वडामा बजेट सिलिङ पठाइसकिएको र अब वडाले योजना टुङ्ग्याएपछि कार्यपालिका बैठकमार्फत नगरसभामा बजेट पेस गरिने तयारी भइरहेको छ।

तर असहमति, राजनीतिक ध्रुवीकरण र आपसी अविश्वासका कारण प्रक्रिया लम्बिँदा स्थानीय वासिन्दाले “राजनीतिक विवादका कारण नगर विकास प्रभावित हुनु दुःखद्” भन्दै सबै पक्षलाई सहमति जुटाउन आग्रह गरेका छन्।

Facebook Comments Box