रुपन्देहीमा ६ अर्ब लागतमा आधुनिक पेट्रोलियम डिपो बन्ने, लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने क्षमता

काठमाडौँ, ४ भदौ

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब ६ अर्ब रुपैयाँ लागतमा आधुनिक सुविधा सम्पन्न पेट्रोलियम भण्डारण डिपो निर्माण गर्ने भएको छ।

हाल सञ्चालनमा रहेको भलवारी डिपो साँघुरो, घनाबस्तीबीचमा रहेको र सीमित भण्डारण क्षमताका कारण वर्तमान माग धान्न नसक्ने भएपछि करिब २५ बिघा क्षेत्रफलमा नयाँ डिपो निर्माण गर्न लागिएको हो।

कुल रु. ५ अर्ब ७९ करोड ३० लाख (करबाहेक) लागतमा बन्ने सो डिपोमा

  • डिजेलका लागि १३ हजार ५०० किलोलिटर,

  • पेट्रोलका लागि ४,९६० किलोलिटर,

  • मट्टितेलका लागि २२८ किलोलिटर
    भण्डारण क्षमता हुने ट्याङ्क निर्माण गरिनेछ।

नयाँ डिपोले लुम्बिनी प्रदेशको एक महिनाको इन्धन माग धान्न सक्ने निगमको दाबी छ।

अग्नि सुरक्षा प्रणालीका लागि ४,२०० किलोलिटर क्षमताका दुईवटा पानी ट्याङ्की, अटोमेसन प्रणालीमा आधारित लोडिङ/अनलोडिङ सेड, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला, कर्मचारी आवासलगायत संरचना निर्माण गरिनेछ।

निगमले असोजमै बोलपत्र आह्वान गरी मङ्सिरबाट निर्माण सुरु गर्ने योजना बनाएको छ। डिपो ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

भलवारी डिपोमा अहिले पेट्रोल ५१९ किलोलिटर, डिजेल ३,०४० किलोलिटर र मट्टितेल २८० किलोलिटर मात्र भण्डारण क्षमता रहेकाले मागअनुसार आपूर्ति गर्न कठिनाइ भइरहेको छ।

साथै, घना बस्तीबीचमा रहेको कारण सुरक्षात्मक जोखिम बढेको भन्दै स्थानीयले पनि स्थानान्तरणको माग गर्दै आएका थिए। काठमाडौँ विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) आज निगमलाई हस्तान्तरण गरिएको छ।

Facebook Comments Box