मुस्ताङमा पहिलोपटक डेङ्गु संक्रमण पुष्टि
मुस्ताङ, ३ भदौ
हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु संक्रमण पुष्टि भएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा संक्रमण देखिएको हो।
बिरामी महिलालाई स्वास्थ्य समस्या भएपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोम भर्ना गरिएको थियो। परीक्षणका क्रममा डेङ्गु संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समिक्षा कँडेलले जानकारी दिनुभयो। उपचारपछि उनी घर फर्किइसकेकी छन्।
डा. कँडेलका अनुसार साउन महिनामा मुस्ताङमा डेङ्गु संक्रमण देखिएको यो पहिलो घटना हो। उहाँले यसअघि जिल्ला प्रवेश गर्ने पर्यटककै माध्यमबाट रोग फैलिएको हुनसक्ने बताउनुभयो।
अस्पतालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा ४ जना र २०८१/८२ मा हालसम्म १७ जनामा डेङ्गु संक्रमण पुष्टि भइसकेको छ।
Facebook Comments Box

