टप एण्ड टी–२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेपाल मेलबर्नसँग ३१ रनले पराजित
काठमाडौँ, २ भदौ
अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको छ ।
डार्बिनस्थित टिआइओ मैदानमा भएको खेलमा नेपालले १७६ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा आठ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । यससँगै नेपाल लगातार तीन खेलमा पराजित भएको छ । यसअघि नेपाल एनटी स्ट्राइक र बङ्गलादेश ‘ए’सँग हार बेहोरेको थियो ।
नेपालका लागि ओपनर आसिफ शेखले ४९ बलमा तीन चौका र एक छक्कासहित ५३ रनको अर्धशतक प्रहार गरे । तर उनको पारी टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५ तथा कुशल मल्लले ११ रन बनाए भने अन्य ब्याटर दोहोरो अंक पार गर्न सकेनन् । मेलबर्नका अस्टिन अन्लेजार्क र डग वारेनले समान दुई÷दुई विकेट लिएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा सात विकेट गुमाउँदै १७५ रन जोडेको थियो । ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए भने थोमस रोजर्सले ६५ रनको योगदान दिए । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र शाहब आलमले समान एक÷एक विकेट झारे ।

