हेंवा खोलामा नेपालकै लामो मोडुलर बेलिब्रिज जडान

पाँचथर, ३१ साउन

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा पर्ने हेंवा खोलामा नेपालकै लामो ७० मिटरको मोडुलर बेलिब्रिज जडान गरिएको छ । सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहायतामा जडान गरेको उक्त पुलसँगै पहुँचमार्ग निर्माणको काम जारी छ । आगामी हप्तादेखि सवारीसाधन सञ्चालन हुने कार्यालय प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको भार वहन क्षमता परीक्षणसमेत सफल भएको छ ।

गत चैतदेखि पुल निर्माण कार्य सुरु भए पनि जेठ ३१ गते जडानको अन्तिम चरणमा पुल भाँचिँदा तीन कामदारको ज्यान गएको थियो । त्यसपछि भारतले प्राविधिक टोली र आवश्यक सामग्री पठाएपछि साउन १७ गते सुरु भएको काम साउन २८ गते सम्पन्न भएको हो ।

बेलिब्रिजका सबै सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको थियो । साथै, भारतीय इन्जिनियर र प्राविधिकसहितको १८ सदस्यीय टोलीले छोटो समयमा पुल जडान सम्पन्न गरेको सडक डिभिजनले जनाएको छ ।यसअघि मेची राजमार्गअन्तर्गत हेंवा खोलामा बनेको सडक पुल २०८० असार २ गतेको बाढीले बगाएको थियो ।

त्यसपछि बनाइएको अस्थायी बेलिब्रिजसमेत २०८१ असोज १२ गतेको बाढीले बगाएपछि सवारीसाधन डाइभर्सनमार्फत सञ्चालन हुँदै आएको थियो । तर वर्षायाममा डाइभर्सन पटक–पटक बग्दा यातायात अवरुद्ध हुने समस्या दोहोरिएको थियो ।

नयाँ पुल जडानपछि स्थानीयले लामो समयदेखि वर्षायाममा भोग्दै आएको सास्ती अन्त्य हुने अपेक्षा राखेका छन् । हिलिहाङका स्थानीय वीरन्द्र मङ्ग्रातीका अनुसार, “तीन वर्षदेखि भोग्दै आएको दुःख अहिले कम हुने आशा पलाएको छ ।”यसै क्रममा सडक विभागले मोडुलर बेलिब्रिज जडानसम्बन्धी दश दिने तालिमसमेत सञ्चालन गरेको थियो, जसमा इन्जिनियर, सबइन्जिनियर, मेकानिक र अपरेटर गरी ३२ जनाले सहभागिता जनाएका थिए ।

Facebook Comments Box