बागलुङका अध्यक्ष रोकाको स्याउखेतीमा सफलता

बागलुङ, ३० साउन

ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले छ वर्षअघि परीक्षणका रूपमा सुरु गरेको स्याउखेती अहिले व्यावसायिक रुप लिएको छ। जुम्लाबाट ल्याइएका रोयल रेडइटालिएन फुजी जातका स्याउ अहिले उनको बगानका मुख्य आकर्षण बनेका छन्।

प्रारम्भमा १०० बिरुवा रोपेका रोकाले ८० वटा मात्र जोगाउन सकेका थिए। अहिले उनको चार रोपनी क्षेत्रफलमा १४० बोट स्याउ फलिरहेका छन्। उनले खेतीलाई छ रोपनीमा विस्तार गर्दै आगामी वर्ष १० रोपनी पुर्‍याउने योजना बनाएका छन्। स्याउखेतीमा हालसम्म रु १ लाख ५० हजार जति लगानी भएको उनले बताए। विभिन्न निकायबाट अनुदानमा बिरुवा पाएका कारण खर्च कम भएको उनको अनुभव छ। यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको छ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालका अनुसार सिंचाइ हुने, पानी कम पर्ने र घाम प्रचुर मात्रामा लाग्ने स्थान स्याउखेतीका लागि उपयुक्त हुन्छन्। ढोरपाटन र निसेलढोर क्षेत्रमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ। जिल्लाभर हाल ५६.९२ हेक्टरमा स्याउखेती हुँदै आएको र वार्षिक उत्पादन करिब ३३१.२ मेट्रिक टन रहेको उनले जानकारी दिए।

Facebook Comments Box