सङ्कटमा कुसुन्डा परिवार, संरक्षणको प्रतीक्षामा

गोरखा, २९ साउन

गोरखा नगरपालिका–११, तेह्रकिलोमा बस्ने ५५ वर्षीय चेतबहादुर कुसुन्डाको दैनिकी वरिपरिको धान वा कोदो रोपाइँजस्तो छैन। न बारीमा काम गर्ने चिन्ता, न मकै भित्र्याउने हतार। लोपोन्मुख कुसुन्डा जातिको गोरखामा बाँकी रहेको एक मात्र परिवारको सदस्य उनी, अहिले पनि दिनचर्या आफ्ना दाँैतरीहरूसँग समय बिताउँदै कटाउँछन्।

छिमेकीले दिएको तीन आना जग्गामा बनेको एकपाखे घरमै उनी आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्छन्। सम्पत्ति यही घर र केही कुखुरामा सीमित छ। “कुखुरा पनि थुनेर पाल्छौँ, नत्र अरूको बारीमा पस्छन्,” उनी भन्छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसंख्या जम्मा २५६ मात्र छ। चेतबहादुरको परिवार विगत ४५ वर्षदेखि तेह्रकिलोमा बस्दै आएको हो। विसं २०३८ मा आमासँग खोप्लाङबाट यहाँ आएका उनी बाल्यकालको भोक र कठिनाइ अझै सम्झन्छन्। बुबा गुमेपछि आमा र दिदीबहिनीलाई लिएर कहिले यो घर, कहिले अर्को घर सारेर बाँच्नुपरेको उनी बताउँछन्।

केही समय नवलपरासीमा सरकारी जग्गाको आशमा पुगे पनि निराश भएर फर्किएका चेतबहादुरले २०–२२ वर्षको उमेरमा कमला घर्तीसँग विवाह गरे। उनले वैदेशिक रोजगारीमा कतार र साउदीको यात्रा गरे पनि परिवारको अवस्था खासै सुध्रेन। उनका तीन सन्तानमध्ये जेठो छोरा ड्राइभर, कान्छो छोरा विदेशमा र छोरी स्थानीयमै विवाहित छन्। सबैले कमै पढेपछि बाल्यकालमै विवाह गरेका छन्।

चार वर्षअघि श्रीमती र गत वर्ष आमा बितेपछि उनको परिवार ससुराली र दिदीबहिनी बाहेक नजिकका आफन्तविहीन भएको छ। बुबाको मूल थलो, जातीय भाषा, भेषभूषा वा संस्कृतिबारे उनलाई केही थाहा छैन। “अर्कातिरका कुसुन्डा त आफ्नो भाषा बोल्छन् रे, तर हामीलाई केही थाहा छैन,” उनी भन्छन्।

उनले दशैँ, तिहारलगायत हिन्दू चाडपर्व र वर्षेनि वायु पूजा, कुलायन पूजा गर्दै आएका छन्। सरकारबाट परिवारका प्रत्येक सदस्यलाई मासिक चार हजार भत्ता र जनता आवास कार्यक्रमअन्तर्गत अहिले बस्ने घर पाएका छन्। तर चेतबहादुरको अपेक्षा अझै ठूलो छ— “सरकारले लोपोन्मुख कुसुन्डा जातिको उत्थानका लागि थप कार्यक्रम ल्याउनुपर्छ। हाम्रो लागि सुरक्षित र स्थायी बासस्थानको व्यवस्था पनि हुनुपर्छ।”

Facebook Comments Box