देशको पश्चिमी भेगमा मनसुन बढी सक्रिय
काठमाडौँ, २९ साउन
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल तराई आसपासमा रहेको छ, पूर्वी भागमा भने यो रेखा तराईभन्दा केही दक्षिणतिर सरेको छ। यस कारण आज पूर्वतर्फभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने अनुमान गरिएको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भागका केही स्थान र मधेस प्रदेशका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रसँगै बागमती, लुम्बिनी र कर्णालीका पहाडी भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम, ठूला–साना नदी तथा खोलामा पानीको सतह बढ्ने, र यातायात अवरुद्ध हुने सम्भावनाबारे चेतावनी दिँदै सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

