उदयपुरमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका आठ जना बिरामी
उदयपुर, २८ साउन
चौदण्डीगढी नगरपालिका–९ अजगरामा जंगली च्याउको विषालु तरकारी खाँदा सदा परिवारका आठ जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, बिरामी हुनेहरूमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र ५५ वर्षीय लल्कु सदा रहेका छन्।
सदा परिवारले मंगलबार बिहान घर नजिकैको जंगलबाट ल्याएको जंगली च्याउको तरकारी खाएका थिए। त्यसपछि उनीहरूलाई बान्ता हुने, टाउको दुख्ने लगायतका समस्या देखा परेको थियो। तीमध्ये गवनी सदा, गीता सदा र सरिता सदाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ। बाँकी पाँच जनाको उपचार चौदण्डीगढी नगरपालिका बेल्टारस्थित नगर अस्पतालमा भइरहेको छ।
चौदण्डीगढी नगरपालिका–९ का वडाध्यक्ष प्रकाश राउतले आर्थिक अवस्था कमजोर भएकाले सदा परिवारलाई नगरपालिकाले निःशुल्क उपचार सेवा प्रदान गरिरहेको जानकारी दिएका छन्। सचेतनाका लागि स्थानीयबासीलाई जंगली च्याउ नखान र स्वास्थ्यमा समस्या देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।

