प्रतिनिधिसभा बैठक आज अपराह्न बस्दै
काठमाडौँ, २८ साउन
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचारार्थ प्रस्ताव पेश गर्नेछन्।
त्यसैगरी, आज चार वटा संसदीय समितिको पनि बैठक बस्नेछ । अर्थ समितिले ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक’ माथि दफावार छलफल गर्नेछ। कानुन, न्याय तथा मानव अधिकार समितिले कैलाली कारागारमा साउन २३ गते भएको घटनाको समीक्षा गर्दै गृहमन्त्रीसँग समस्या समाधानका उपायबारे छलफल गर्नेछ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२’ मा छलफल गर्ने कार्यक्रम छ। साथै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले महालेखापरीक्षकको ६२औँ प्रतिवेदनका मूलभूत पक्षहरूमा छलफल गर्नेछ।

