म्याग्दीमा डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सम्पन्न
म्याग्दी, २८ साउन
म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतस्थित विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ। नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत–राहुघाट प्रशारण लाइन आयोजनामार्फत पूर्वाधार तयार भइसकेपछि उपकरण जडानको अन्तिम चरणमा पुगेको छ।
आयोजना प्रमुख रोशन अग्रवालका अनुसार सवस्टेशनका लागि ५१ रोपनी क्षेत्रमा भवन र उपकरण राख्ने संरचना निर्माण सम्पन्न भइसकेको छ। १३३/३३ केभी, ३० एमभिए क्षमताको एआइएस प्रविधियुक्त उपकरण हाल जडान भइरहेका छन्। म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रीडमा जोड्ने उद्देश्यले सवस्टेशन निर्माण गरिएको हो।
यो आयोजना अन्तर्गत डाँडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङसम्म २५ किलोमिटर लम्बाइको १३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइन र दुवै स्थानमा सवस्टेशन निर्माण भइरहेको छ। २०२१ डिसेम्बर ३१ मा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग तीन अर्ब ५७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको यस परियोजनाको म्याद आगामी कात्तिक २९ गतेसम्म थपिएको छ।
हालसम्म ७९.१७ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख अग्रवालले बताए। उनका अनुसार राहुघाट क्षेत्रमा कमजोर भूबनोट, वन अनुमति प्रक्रियामा ढिलाइ, टावर निर्माणस्थलमा सामुदायिक विवाद लगायतका कारण परियोजना ढिलो भएको हो।
प्रशारण लाइनका ५९ टावरमध्ये ४५ को निर्माण सकिएको छ भने चार बाहेक सबै टावरमा काम सुरु भइसकेको छ। आवश्यक उपकरणमध्ये ८५ प्रतिशत आयात भइसकेको आयोजनाले जनाएको छ। राहुघाट सवस्टेशन २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको जीआईएस प्रविधिमा निर्माण भइरहेको छ। ९० रोपनी जग्गा अधिग्रहण भइसकेको उक्त सवस्टेशनमा उपकरण राख्ने भवनको फाउन्डेशन सकिएको छ।
चार अर्ब ८८ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा एक अर्ब पाँच करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरण र तीन अर्ब ८२ करोड रुपैयाँ एसियाली विकास बैंकको ऋण लगानी रहेको छ। टावर निर्माणका लागि निजी जग्गाधनीलाई एक करोड ५० लाख रुपैयाँ मुआब्जा र वन क्षेत्र प्रयोगका लागि चार करोड ५० लाख रुपैयाँ सरकारले उपलब्ध गराइसकेको छ।
म्याग्दी नदीमा हाल १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माणाधीन छन्। राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरिसकेका छन्। यस्तै, अपर राहुघाट (४८.५ मेगावाट), राहुघाट (४० मेगावाट) र माथिल्लो ठूलोखोला (२३.५ मेगावाट) आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

