कञ्चनपुरमा ३९ छाउगोठ भत्काइयो
कञ्चनपुर, २८ साउन
कञ्चनपुरमा छाउपडी प्रथाअन्तर्गत प्रयोग हुँदै आएका ३९ वटा छाउगोठ भत्काइएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिका–१० मा २३ र कृष्णपुर नगरपालिका–१ मा १६ वटा छाउगोठ भत्काइएको हो।
बोहराले जानकारी दिँदै भने, “बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली तथा भेन्टी बजार क्षेत्रका छाउगोठ स्थानीय जनप्रतिनिधि, संघसंस्था, प्रहरी र बासिन्दाको उपस्थितिमा भत्काइएका हुन्।” गत असारमा कृष्णपुर–१ निगालीकी २८ वर्षीया कमला दमाईको छाउगोठमा बस्ने क्रममा सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो।
बेदकोट–१० का वडाध्यक्ष रतनसिंह विष्टका अनुसार वडानं ४ र १० मा रहेका २३ छाउगोठ भत्काइएका छन्। उनले भने, “छाउगोठ हटाइएकामा खुशी छौँ, तर फेरि निर्माण नहोस् भन्ने चुनौती छ। छाउगोठ बनाउने परिवारलाई अभिमुखीकरणको तयारी गरिरहेका छौँ।” कृष्णपुर–१ का वडाध्यक्ष मोहन बस्नेतले पनि वडामा १६ वटा छाउगोठ भत्काइएको बताए। “अहिले यहाँका बासिन्दा सचेत छन्, पहिलाजस्तो अवरोध छैन,” उनले भने।
गत वर्षदेखि सुरु गरिएको अभियान केही समय स्थानीयको अवरोधका कारण रोकिएको थियो। तर असार अन्तिम साता निगालीमा कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउगोठ नहटाए कानूनी कारबाही र रु १० हजार जरिवानाको चेतावनी जारी गर्दै पुनः अभियान अघि बढाएको हो।

