विश्व हात्ती दिवसः बासस्थान अतिक्रमणले मानव–हात्ती द्वन्द्व तीव्र

काठमाडौँ, २७ साउन

बासस्थान अतिक्रमण र क्षयीकरणका कारण नेपालमा मानव–हात्ती द्वन्द्व बढ्दो क्रममा रहेको छ। प्रत्येक वर्ष १२ अगस्टमा मनाइने विश्व हात्ती दिवसको अवसरमा सरोकारवालाले यो समस्या समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिएका छन्।

वन तथा वातावरण मन्त्रालयका अनुसार सन् २००० देखि हालसम्म हात्तीको आक्रमणबाट ३४५ जनाको मृत्यु भएको छ भने मानिसको आक्रमण र करेन्टका कारण ५५ हात्ती मरेका छन्। कृषि, पशु र बालीमा हुने क्षति ठूलो मात्रामा रहेको छ, जसबाट वन नजिक बस्ने गरिब समुदाय बढी प्रभावित हुन्छन्।

मन्त्रालयले उद्धार, उपचार, क्षतिपूर्ति, सचेतना, फेन्सिङ तार, मृतकका परिवारलाई राहत तथा वैकल्पिक खेती प्रवर्द्धनजस्ता कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। विज्ञहरूले हात्ती हिँड्ने कोरिडोर संरक्षण, तत्काल सम्बोधन गर्ने संयन्त्र गठन र स्थानीयमा सकारात्मक व्यवहार विकास गर्न जोड दिएका छन्।

हाल नेपालमा करिब २३० जङ्गली र १८० पालतु हात्ती छन्। जङ्गली हात्ती मुख्यतया तराईको उत्तरी भाग, भवर, चुरे र भित्री तराईमा पाइन्छन्। पूर्वी तराईमा भाले हात्ती बढी भएकाले क्षति तुलनात्मक रूपमा बढी हुने देखिन्छ।

विश्व संरक्षण सङ्घ (IUCN) ले हात्तीलाई संकटापन्न प्रजातिमा राखेको छ भने नेपालले यसलाई अनुसूची–१ अन्तर्गत विशेष संरक्षणमा राखेको छ।

Facebook Comments Box