बूढीगण्डकीको बाढीपछि मनास्लु क्षेत्रमा पदयात्रामा रहेका सबै पर्यटक सुरक्षित

काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण मनास्लु क्षेत्रमा पदयात्रामा रहेका सबै पर्यटक सुरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ। आइतबार गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा बाढी आएपछि चुम उपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए। उनीहरू सबै सुरक्षित अवस्थामा रहेको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभएको छ।

त्यस्तै, मनास्लु क्षेत्रको प्रवेशविन्दुमा अलपत्र परेका ९८ जना पर्यटक तथा ७३ जना गाइड र भरिया पनि सुरक्षित रहेका छन्। बाढीले मनास्लु पदमार्गमा भने ठूलो क्षति पुर्‍याएको छ। चुमनुब्री गाउँपालिका–६ लोक्पास्थित सार्दीभिरमा रहेको क्यान्टिलिभर पुल बगाएपछि चुम उपत्यका जाने पदमार्ग अवरुद्ध भएको छ। धार्चे गाउँपालिकाको माछाखोलादेखि चुमनुब्रीको जगतसम्मका अधिकांश स्थानमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्यापले जनाएको छ।

पदमार्गमा क्षति पुगेपछि चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको छ। सामागाउँ जान चाहने पदयात्रीका लागि हेलिकप्टरमार्फत फिलिमसम्म पुग्न सकिने विकल्प रहेको सूचना अधिकारी ओझाले बताउनुभएको छ। उहाँका अनुसार फिलिमदेखि लार्के पाससम्मको पदमार्ग भने खुला र सुरक्षित अवस्थामा छ।

तर, माछाखोलादेखि जगतसम्म र सल्लेरी हुँदै जाने पदमार्ग क्षतिग्रस्त बनेको छ। क्षतिग्रस्त पदमार्ग पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको एमक्यापले जनाएको छ।

Facebook Comments Box