श्रीकृष्ण जन्माष्टमी महोत्सवका तयारी सम्पन्न
विराटनगर, २५ साउन
नेपाल अन्तरराष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) विराटनगरले श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्य र ऐतिहासिक रूपमा मनाउन आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ।
सचिव भानुभक्त जोशीका अनुसार महोत्सवमा धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम, अन्तरविद्यालयस्तरीय प्रतियोगिता, बालबालिकामुखी प्रस्तुति, कीर्तन, कथा र यज्ञलगायत विविध आकर्षण हुनेछन्। कार्यक्रम बिहान मङ्गल आरतीबाट सुरु भई सामूहिक जप, दर्शन आरती, गुरु पूजा र श्रीकृष्ण कथा सञ्चालन हुनेछ।
बिहान ९ बजे महायज्ञ, ११ बजे अन्तरविद्यालय चित्रकला प्रतियोगिता, दिउँसो बालकृष्ण झाँकी, नृत्य प्रतियोगिता र ‘मटकी फोड’ हुनेछ। साँझ आरतीपछि भजनकीर्तन, मध्यरातमा श्रीकृष्ण जन्मोत्सव र महाअभिषेक सम्पन्न गरिनेछ।
कार्यक्रममा वरिष्ठ आध्यात्मिक गुरु, विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि, राष्ट्रिय–अन्तरराष्ट्रिय अतिथि तथा स्थानीय जनप्रतिनिधिसहित २० हजारभन्दा बढी भक्तजनको सहभागिता अपेक्षित छ।
आयोजकका अनुसार महोत्सवको उद्देश्य धार्मिक–सांस्कृतिक चेतना फैलाउनु, युवामा शान्ति र सद्भावको सन्देश पुच्याउनु तथा कृष्ण भक्तिमार्फत मानवीय मूल्य र नैतिकताको विकास गर्नु हो।

