भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने
तनहुँ, २६ साउन
भानु नगरपालिकाले गुन्द्रुकलाई स्थानीय पहिचानका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने योजना अघि बढाएको छ। ‘भानु गुन्द्रुक’ नामक ब्रान्ड निर्माण गरी यसको उत्पादन, प्रशोधन र बिक्रीमा आधुनिक प्रविधि र व्यवस्थापन प्रणाली प्रयोग गर्ने तयारी भएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।
यो पहल ‘कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग’ परियोजना अन्तर्गत अघि बढाइएको हो। इलामको रोङ गाउँपालिकाको अध्ययन भ्रमणबाट प्रेरित भई नगरपालिकाले स्थानीय उत्पादनको नवीन शैलीमा बजार विस्तार गर्ने नीति बनाएको छ।
योजना अनुसार, स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनको गुणस्तरीय एकरूपता सुनिश्चित, प्याकेजिङ र लेबलिङमा सुधार, डिजिटल मार्केटिङ, अनलाइन बिक्री प्रवर्द्धन, उत्पादन ‘ट्रयाकिङ’ र क्यूआर कोडमार्फत स्रोत पहिचान जस्ता उपायहरू लागू गरिने छन्। यसबाट किसानको आम्दानी वृद्धि गर्दै भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र (हब) बनाउने लक्ष्य लिइएको छ।
नगर प्रमुख त्रिपाठीका अनुसार, “गाउँको जीवनशैली, संस्कृति र आपसी आत्मीयता हाटबजारमै झल्किन्छ, जसले वातावरणलाई अझ जीवन्त बनाउँछ। हामी स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसान–उपभोक्ता सम्बन्धलाई बलियो बनाउने र समुदायलाई हाटबजारको केन्द्रमा राख्ने ढाँचा अँगाल्छौँ।” यस अभियानबाट रैथाने खेतीलाई थप प्रोत्साहन मिल्ने र कृषक आर्थिक रूपमा सबल हुने अपेक्षा गरिएको छ।

