महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो

कञ्चनपुर, २५ साउन

महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीहरूको संख्या बढ्दो छ । गुणस्तरीय र सस्तो सेवाका कारण यहाँ भारतीय आँखाका बिरामीहरू पनि उपचारका लागि आकर्षित भइरहेका छन् ।आर्थिक वर्ष २०८१/८२ मा अस्पतालले २४ हजार ७८० जनालाई आँखासम्बन्धी उपचार सेवा प्रदान गरेको छ ।

अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीका अनुसार सो अवधिमा ६ सय ३४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको र ५ हजार ४१३ जनालाई चश्मा वितरण गरिएको छ । धामीले बताए अनुसार अस्पतालमा सेवा लिने सबैलाई समान शुल्कमा विभेदविहीन सेवा दिइन्छ, जसले गर्दा यहाँ भारतीय बिरामीहरूको चाप बढेको छ ।

हाल दैनिक औसत एक सय १५ देखि एक सय २० जना बिरामी उपचारका लागि आउने गर्छन् जसमा करिब १६ सय भारतीय नागरिक रहेका छन् । मोतियाविन्दु, आँखामा मासु पलाउने, नेत्र ज्योति समस्या, चश्मा प्रयोग गर्नुपर्ने लगायतका बिरामीहरू अस्पतालमै उपचार गराइरहेका छन् भने जटिल शल्यक्रिया आवश्यक परेमा बिरामीलाई गेटा आँखा अस्पतालमा रेफर गरिन्छ ।

अस्पतालले आर्थिक वर्ष २०८१/८२ मा विद्यालय र दुर्गम क्षेत्रहरूमा आँखा शिविरहरू पनि सञ्चालन गरेको छ । विद्यालय स्तरका ६ शिविरमा १९०० विद्यार्थी र स्थानीय तहस्तरका शिविरबाट ३९०० जनाले सेवा लिएका छन् । विसं २०४२ मा आँखा उपचार केन्द्रको रूपमा स्थापना भएको यस अस्पताल २०७० मा १० शय्याको आँखा अस्पतालमा स्तरोन्नति भएको हो ।

शल्यक्रियाका लागि भवनको आवश्यकतालाई लिएर नगरपालिका र प्रदेश सरकारलाई अनुरोध गरिए पनि अहिलेसम्म बजेट स्वीकृतिको टुङ्गो लागेको छैन । वायु प्रदूषणका कारण भाइरल आँखाका रोगहरू बढ्दो क्रममा छन् । जनतालाई दैनिक सफा पानीले आँखा सफा राख्न र बाहिर जाँदा क्याप, टोपी वा कालो चश्मा लगाउन अस्पतालले सल्लाह दिएको छ ।

नेपाल नेत्रज्योति सङ्घ, नेपालकै अग्रणी गैरसरकारी संस्था, २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४५ जिल्ला शाखाहरू मार्फत वार्षिक ३० लाखभन्दा बढीलाई सेवा दिँदै आएको छ र तीन लाखभन्दा बढी शल्यक्रिया गरिरहेको छ ।

Facebook Comments Box