घर्तीभिरको चट्टान फुटाएर सडक निर्माण, दिक्तेल–रेग्मीटार छोटो मार्ग खुल्यो

खोटाङ, १४ असार  जिल्लाको चर्चित घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण सम्पन्न गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमामा पर्ने घर्तीभिर पार गर्दै दिक्तेल–आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने छोटो सडक मार्ग सञ्चालनमा ल्याइएको हो।

कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत करिब रु १ करोड ७ लाख ७८ हजार लागतमा सडक निर्माण सम्पन्न गरिएको हो। चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित करिब रु २ करोड बजेटमध्ये ठेक्का प्रक्रियाबाट कमला कन्स्ट्रक्सन एन्ड सप्लायर्स, उदयपुरले काम सम्पन्न गरेको हो।

ठेकेदार कम्पनीले करिब पाँच महिनासम्म स्काभेटर र ब्रेकर प्रयोग गरी घर्तीभिरको कठोर चट्टान फुटाएर सडक मार्ग खोलिएको हो। यससँगै दिक्तेल बजारबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोडिने छोटो दूरीको यातायात मार्ग सञ्चालनमा आएको छ। प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले शनिबार उक्त सडक उद्घाटन गर्दै यो मार्ग यात्रु तथा यातायात व्यवसायी दुवैका लागि महत्वपूर्ण हुने बताए।

उनका अनुसार पहिलेको महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकभन्दा यो नयाँ मार्ग करिब १७ किलोमिटर छोटो छ। नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार दिक्तेलबाट तराई जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा यो सडकलाई प्राथमिकतामा राखिएको हो। घर्तीभिर यसअघि सडक विस्तारको मुख्य बाधा बनेको थियो।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार भिर कटानपछि अब दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकखण्डमार्फत पूर्वी तराईका जिल्लासँगको आवतजावत अझ सहज हुने अपेक्षा गरिएको छ। साथै, दिखुवाखोलामा मोटरेबल पुल निर्माण कार्य पनि अघि बढिरहेको छ, जसले वर्षायाममा महिनौँ अवरुद्ध हुने यातायात समस्यालाई कम गर्ने विश्वास गरिएको छ।

Facebook Comments Box