महोत्तरीमा धान रोपाइँ ६० प्रतिशत, वर्षा अनुकूल रहे साउन मसान्तसम्म ८० प्रतिशत पुग्ने अनुमान

महोत्तरी, २३ साउन

लामो खडेरीपछि मनसुन सक्रिय भएसँगै महोत्तरीमा धान रोपाइँको गति तीव्र बनेको छ। साउन दोस्रो सातासम्म ३० प्रतिशतभन्दा कममा सीमित रहेको रोपाइँ अहिले ६० प्रतिशत नाघेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ।

कार्यालयका सूचना अधिकारी अविरल कुमार महतोका अनुसार साउन तेस्रो सातासँगै लगातार वर्षा सुरु भएपछि भूमिगत सिँचाइ सहज र कम खर्चिलो बनेको छ, जसका कारण किसानले खेत छिट्टै हिल्याउन सकेका छन्।

हालसम्म जिल्लामा ४५ हजार हेक्टर धानखेती योग्य जमिनमध्ये करिब २५ हजार ७०० हेक्टरमा रोपाइँ भइसकेको छ। वर्षा अनुकूल रह्यो भने साउन मसान्तसम्म रोपाइँ ८० प्रतिशत नाघ्ने अनुमान कार्यालयको छ।

किसानका अनुसार इनार, स्यालोट्यूबवेल र डिपबोरिङबाट तानिएको पानी र आकासे वर्षाको संयोजनले खेतमा छिट्टै पानी पुगेको छ। “परेको पानी मात्रले खेत हिल्याउन पुग्दैनथ्यो, तर लगातार वर्षाले धेरै सजिलो बनाइदियो,” भङ्गाहा–३ कटैयाकी किसान रामराजी यादवले बताइन्।

तर, लामो खडेरीका कारण असार २२ भित्र सकिनुपर्ने बीउ रोप अझै जारी छ। पटक–पटक बीउ सुक्दा उत्पादन अपुग हुँदै गएको किसानको गुनासो छ। औरही–७ भोइलका किसान मोहन महतोका अनुसार खरुअन रोप्नसमेत बीउको हाहाकार भएको छ।

मधेशमा हिउँदे धान रोप्ने परम्परागत तालिका—जेठ तेस्रो साताभित्र ब्याड, असार तेस्रो साताभित्र पहिलो रोप, र साउन मसान्तसम्म खरुअन रोप—यस वर्ष पानी, बीउ र मलको अभावका कारण अव्यवस्थित बनेको किसानले बताएका छन्।

Facebook Comments Box