उत्तराखण्डको भिषण बाढीमा परी १८ भन्दा बढी नेपाली बेपत्ता, खोजी जारी

काठमाडौँ, २३ साउन

 भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रमा साउन २० गते वर्षापछि आएको भिषण बाढीका कारण जाजरकोट, बाँके, जुम्ला र रुकुमका गरी कम्तीमा १८ जना भन्दा बढी नेपाली मजदुर बेपत्ता भएको आशंका गरिएको छ। सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूले उक्त जानकारी दिएका छन्।

जाजरकोटको कुशे गाउँपालिका–२ मा १३ जना भन्दा बढी नेपाली नागरिक बाढीमा हराएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो। बाँकी जिल्लाहरूमा पनि केही नेपाली मजदुरहरू सम्पर्कविहीन रहेका छन्। बर्दियाबाट ५ जना र जुम्लाबाट केही व्यक्ति बाढीपछि परिवारसँग सम्पर्कमा छैनन्। उनीहरू मुख्यतया सडक निर्माण, स्याउ टिप्ने लगायतका काममा सक्रिय थिए।

मंगलबार उत्तरकाशीको धराली बजारमा ‘क्लाउड बर्स्ट’ अर्थात् अचानक आएको भारी वर्षाले भिषण बाढी ल्याएको थियो भने बुधबार पौडी गढवाल क्षेत्रमा पहिरो गएको थियो। यी प्राकृतिक विपत्तिमा धेरै नेपाली मजदुर फसेको अनुमान गरिएको छ। स्थानीय जनप्रतिनिधिहरूले बेपत्ता नेपालीहरूको खोजीमा नेपाल सरकारसँग सहयोगको अनुरोध गरेका छन्।

कुशे गाउँपालिका–२ का टालेगाउँका वडाध्यक्ष मानबहादुर सिंहका अनुसार कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंह लगायत धेरै नेपाली मजदुरहरू बेपत्ता भएका छन्। त्यसैगरी, जुम्लाको तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुमका एक जना अझै सम्पर्कविहीन छन्।

पौडी गढवालस्थित ग्राम बाकुडामा बुधबार परेको पहिरोले सडक निर्माणमा कार्यरत पाँच जना नेपाली मजदुरलाई वेपत्ता बनाएको छ। टेन्टमा बसेका ती मजदुरहरू पहिरोमा पुरिएका हुन्। बेपत्ता हुनेहरूमा मधुवन–६ का नरेन्द्र खड्का (३९), उनकी श्रीमती सरस्वती (३०), २ वर्षीय छोरा रोमन, ४५ वर्षीया अमृता (रामु परियारकी श्रीमती), र मधुवन–८ का सुवास विक (२१) रहेका छन्।

यो पहिरोमा घाइते भएका मधुवन–८ की लक्ष्मी परियार र मधुवन–७ का भूपेन्द्र खत्रीलाई हाल हल्द्वानीस्थित सुशीला तिवारी अस्पतालमा उपचार भइरहेको छ। हालसम्म सबै बेपत्ताका नाम सार्वजनिक भइसकेका छैनन्।

Facebook Comments Box