घानामा सैनिक हेलिकप्टर दुर्घटना : दुई मन्त्रीसहित आठ जनाको मृत्यु
घाना, २२ साउन
घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको सैनिक हेलिकप्टर दुर्घटनामा दुई मन्त्रीसहित आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदले ज्यान गुमाएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जेड९ नामक हेलिकप्टर राजधानी अक्राबाट दक्षिणको खानी क्षेत्र ओबुआसीतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन चालक दलका सदस्य थिए ।
दुर्घटनामा ज्यान गुमाउने अन्य व्यक्तिहरूमा उपराष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मुहम्मद मुनिरु लिमुना, नेशनल डेमोक्रेटिक कांग्रेस (NDC) का उपाध्यक्ष सामुएल सार्पोङ, सांसद पदका उम्मेदवार सामुएल अबोआग्ये रहेका छन् । चालक दलमा स्क्वाड्रन लिडर पिटर बाफेमी अनाला, फ्लाइङ अफिसर मालिन ट्वुम–अम्पाडु र सर्जेन्ट एर्नेस्ट एडो मेन्साहको मृत्यु भएको पुष्टि गरिएको छ ।
राष्ट्रपतिको कार्यालयबाट जारी सन्देशमा यो घटनालाई ‘राष्ट्रिय विपत्ति’ घोषित गरिएको छ । राष्ट्रपतिले गहिरो शोक व्यक्त गर्दै सम्पूर्ण देशभर शोकको वातावरण बनाइ झण्डा आधा झुकाउन निर्देशन दिएका छन् । सन् २०१४ र २०२१ मा पनि घानामा यस्तै प्रकारका विमान दुर्घटना भइसकेका छन् । यो पछिल्ला वर्षहरूमा भएको सबैभन्दा गम्भीर दुर्घटनामध्ये एक हो ।

