कालीगण्डकीमा आमा–छोरा बेपत्ता भएको आशंका, सशस्त्र प्रहरीद्वारा खोजी जारी

स्याङजा, २२ साउन

कालीगण्डकी नदीमा आमा र छोरा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीले खोजी कार्य तीव्र पारेको छ । साउन २१ गते साँझ गल्याङ नगरपालिका–५, सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेका उनीहरू हालसम्म सम्पर्कविहीन छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घटनास्थलको नजिकै रहेको प्रतिक्षालयमा महिलाको झोला, चप्पल, मोबाइल फोन र बालकको जुत्ता फेला परेका थिए । ती सामान कालीगण्डकी गाउँपालिका–४ बिर्घाकी २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डेको भएको खुलेको छ ।

“उनीहरू परिवार तथा आफन्तसँग सम्पर्कमा नरहेको र घटनास्थलमा निजी सामानहरू भेटिएकाले कालीगण्डकी नदीमा बेपत्ता भएको आशंका गरिएको हो,” डिएसपी थापाले जानकारी दिनुभयो । खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गुल्म स्याङजाबाट प्रहरी निरीक्षकको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै, पोखराबाट गोताखोर टोली ल्याउने तयारीसमेत भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Facebook Comments Box