प्रधानमन्त्री ओलीद्वारा तुर्कमेनिस्तानका राष्ट्रपतिको लागि नेपाल भ्रमणको निम्तो

तुर्कमेनिस्तान, २१ साउन

प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई औपचारिक नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको अवसरमा आज आवाजा सहरमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्मानमा सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभएको हो।

छोटो संवादमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचका पारस्परिक हित, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउने विषयमा छलफल केन्द्रित भएको छ।”

प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानले अल्प अवधिमा हासिल गरेको समृद्धिको प्रशंसा गर्दै नेपाल सन् २०२६ भित्र विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्रियामा रहेको जानकारी पनि दिनुभयो।

उहाँले एलएलडिसी सम्मेलनको उत्कृष्ट आयोजना र आतिथ्यका लागि राष्ट्रपति बेरदिमुहामेदोभलाई धन्यवाद व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीको आजै अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग पनि उच्चस्तरीय भेटवार्ता तय गरिएको छ।

हरेक १० वर्षमा आयोजना हुने एलएलडिसी सम्मेलनमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विभिन्न कार्यक्रम र बहुपक्षीय छलफलहरूमा सहभागी हुनुहुन्छ।

Facebook Comments Box