कक्षा १२ को मौका परीक्षा आजदेखि सुरु

काठमाडौँ, ७ असोज – स्थगित कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु भएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण स्थगित भएको थियो। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा दुई दिन—आज र भोलि (बुधबार)—सम्म सञ्चालन हुनेछ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय र दुई विषय दिने परीक्षार्थीका लागि सानो कोड भएको विषयको परीक्षा हुने छ। अनिवार्य अंग्रेजी र नेपाली दुवै विषय दिनेले आज अंग्रेजी र भोलि नेपालीमा परीक्षा दिनुपर्नेछ।

भोलि दोस्रो दिन दुई विषयमा परीक्षा दिनेका लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ। यस दिन अंग्रेजी भने नहुने परीक्षा कार्यालयले जनाएको छ। सबै परीक्षा बिहान ११ बजेदेखि सुरु हुने छन्।

Facebook Comments Box