खेलाडीको भविष्य खेलक्षेत्रमै सुरक्षित हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ, २१ साउन – राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेलक्षेत्रमै सुरक्षित बनाउने दिशामा सरकारको ध्यान केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

भारतमा सम्पन्न म्याट्रिक्स फाइटर नाइट टाइटल जितेका नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटको सम्मानमा शीतल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलाडीहरूलाई आवश्यक सम्मान, सहयोग र अवसर प्रदान गर्न सरकार र सम्बन्धित निकायहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “देश–विदेशका प्रतियोगितामा सहभागी हुन तथा आवश्यक प्रशिक्षण पाउन खेलाडीहरूलाई अवसर र सुविधा प्रदान गर्न सके मात्र उनीहरूले सफलता र कीर्तिमान हासिल गर्न सक्छन्।”

राष्ट्रपतिले खेलले व्यक्ति विशेषको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै भन्नुभयो, “खेल क्षेत्रको विकासका लागि सरकार, खेलसँग सम्बन्धित सङ्घ–संस्था र निकायहरूले आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्ने विश्वास लिएको छु।”

बझाङको बाघ भनेर चिनिने फाइटर रवीन्द्र ढाँटले आफ्नो खेल कौशल, सामर्थ्य र निरन्तर समर्पणका कारण उपाधि जित्न सफल भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस उपलब्धिलाई सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले ढाँटको सफलतामा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो।

Facebook Comments Box