श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, आज सार्वजनिक बिदा
काठमाडौँ, १९ भदौ – वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना, व्रत तथा भजनकीर्तन गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक मान्यताअनुसार यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ। जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा विशेष पूजा–आराधना, प्रवचन तथा भजनकीर्तन आयोजना गरिन्छ।
यस दिन महिला तथा पुरुष भक्तजन व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलनसमेत रहेको छ। धार्मिक मान्यताअनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको हो।
श्रीकृष्णले जीवनभर सत्य र धर्मको पक्षमा रही मानव समुदायलाई सत्कर्मका लागि प्रेरित गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ। कुरुक्षेत्रको युद्धमा पाण्डवमध्येका अर्जुनलाई श्रीकृष्णले दिनुभएको उपदेश ‘श्रीमद्भागवतगीता’ हिन्दू धर्मावलम्बीका लागि पवित्र ग्रन्थका रूपमा मानिन्छ। छोटकरीमा ‘गीता’ नामले चिनिने यो ग्रन्थ विश्वका विभिन्न भाषामा अनुवाद भएको छ।
पौराणिक ग्रन्थमा श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाउनुभएको तथा पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको उल्लेख छ। जन्माष्टमीका अवसरमा आज ललितपुरको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष पूजा तथा ठूलो मेला लाग्दैछ। राजधानीको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि दर्शन तथा पूजाआराधनाका लागि भक्तजनको भीड लाग्ने गर्दछ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ठूला–साना कृष्ण मन्दिरमा समेत बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ। पर्वका अवसरमा विभिन्न धार्मिक सङ्घसंस्थाले भगवान् श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत निकाल्ने गरेका छन्। श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।

