विर्तामोडमा सुपथ मूल्य तरकारी बिक्री केन्द्र प्रभावकारी

झापा, १८ साउन – विर्तामोड नगरपालिकाले किसानको उत्पादनलाई उचित मूल्यमा बजारसम्म पुर्‍याउन सञ्चालन गरेको सुपथ मूल्य तरकारी बिक्री केन्द्रहरू प्रभावकारी बनेका छन्।

नगरपालिकाले विभिन्न वडामा सात वटा सुपथ मूल्य बिक्री केन्द्र र विर्तामोडमा मुख्य सङ्कलन केन्द्र सञ्चालन गर्दै आएको छ। कृषि शाखाका प्रमुख राजेन्द्र प्रसाद कडरियाका अनुसार किसानले उत्पादन गरेका तरकारीहरू सङ्कलन केन्द्रमा जम्मा भई बिक्री केन्द्रमार्फत उपभोक्तासम्म पुग्ने गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा २७६ मेट्रिक टन तरकारी सङ्कलन भई रु ७३ लाख २३ हजार ५४० बराबरको कारोबार भएको छ।

नगरपालिकाले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्ने र सो मूल्य नपाएमा क्षतिपूर्ति दिने व्यवस्था गरेको छ। गत वर्ष २४ किसानलाई समर्थन मूल्यभन्दा कममा तरकारी बिक्री गरेबापत क्षतिपूर्ति दिइएको थियो। उपप्रमुख नगेन्द्र सङ्ग्रौलाका अनुसार नगरपालिकाले उक्त अवधिमा किसानलाई रु १२ लाख ८१ हजार ८८७ क्षतिपूर्ति दिएको छ।

नगरपालिकाले एक वर्षअघि ‘पारिको होइन, बारीको खाउँ’ भन्ने नारासहित अग्र्यानिक कृषि प्रवर्द्धन अभियान सुरु गर्दै न्यूनतम समर्थन मूल्य तोकेको हो। हाल पालिकामा सूचीकृत ११७ व्यावसायिक तरकारी किसानमध्ये ६७ जनाले सङ्कलन केन्द्रमार्फत बिक्री गर्दै आएका छन्।

कृषि शाखाका अनुसार प्रति किलो काउली रु २६, बन्दा रु २४, ब्रोकाउली रु ३५, खुर्सानी रु ५४, घिरौँला रु २६, करेला रु ३२, बैगुन रु २६, सिमी रु ४६, काँक्रा रु २५, भिण्डी रु ३६, फर्सी रु ३१, स्क्वास फर्सी रु २५, भेडे खुर्सानी रु ५१, बोडी रु ३०, लौका रु २७ र टमाटर रु ३० समर्थन मूल्य तोकिएको छ।

नगरप्रमुख पवित्रा महतरा प्रसाईंका अनुसार उत्पादित तरकारी बजारीकरण सहज होस् भनेर संघीय सरकारको सहयोगमा रु २६ लाखमा कृषि एम्बुलेन्स पनि खरिद गरिएको छ।

उनले भनिन्, “भारत र पहाडी जिल्लाबाट आउने तरकारीमा अत्यधिक विषादी फेला परेपछि अग्र्यानिक उत्पादनमा जोड दिँदै किसानलाई न्यूनतम मूल्यको ग्यारेन्टी गरेका हौँ।”

नगरमा सबैभन्दा धेरै समर्थन मूल्यबापत भुक्तानी पाउने किसान प्रदीप खनालले एक वर्षमै रु पाँच लाख ३४ हजार ५११ प्राप्त गरेका छन्। उनले यस योजनाले किसानलाई थप प्रेरित गरेको बताए।

Facebook Comments Box