निर्मला पन्त हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ, १८ साउनः गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई नयाँ शिराबाट गम्भीर रुपमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिनुभएको छ।

आज सिआइबी कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले यस प्रकरणको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “निर्मला पन्तको हत्यासहित ब्युरोले हातमा लिएका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिनुपर्छ। सिआइबीप्रति आम जनताको भरोसा बढेको छ, त्यसलाई कायम राखेर काम गर्नुपर्छ।”

सीमित स्रोतसाधनका बीच सिआइबीले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै गृहमन्त्री लेखकले ब्युरोलाई थप साधनस्रोत र प्रविधि उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। पछिल्लो समय मुलुकमा वित्तीय अपराध बढ्दै गएपछि वित्तीय अपराध नियन्त्रणका लागि नयाँ महाशाखा गठन गरिएको जानकारी पनि उहाँले दिनुभयो।

उहाँले थप भन्नुभयो, “प्रहरीप्रतिको विश्वास बढेकै कारण देशभरबाट प्रहरी चौकीको माग भइरहेको छ। प्रहरीलाई सुविधा सम्पन्न बनाउन चालु आर्थिक वर्षमा विगतको भन्दा बढी बजेट विनियोजन गरिएको छ।”

सिआइबीको जिम्मेवारी संवेदनशील र महत्वपूर्ण रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले प्रविधि र जनशक्ति विकासमा जोड दिनुपर्ने बताउनुभयो।

सो अवसरमा सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले ब्युरोले गरिरहेको अनुसन्धान, कारबाही, सफलता र चुनौतीबारे प्रस्तुति राखेका थिए। उनले निर्मला पन्त हत्या प्रकरणसहित अन्य जटिल घटनामा पनि अनुसन्धान जारी रहेको जानकारी गराए।

कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत सिआइबीका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

Facebook Comments Box