जलवायु परिवर्तनले पारेको असरबारे भदौ पहिलो साता अन्तरराष्ट्रिय सम्मेलन हुने
काठमाडौँ, १८ साउन – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालले भोगिरहेको जलवायु परिवर्तनका प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गराउन भदौ २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभएको छ।
स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसबारे जानकारी दिनुभयो। साथै, अन्तर व्यवस्थापिक संघ (आइपियू) का अध्यक्षसँग आगामी जनवरी ३० र ३१ मा एसिया–प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनका प्रभावसम्बन्धी अर्को कार्यक्रम आयोजना गर्नेबारे पनि छलफल भएको उहाँले बताउनुभयो।
सभामुख घिमिरेले भन्नुभयो, “नेपालको संसद्को तर्फबाट जलवायु परिवर्तनको असरलाई लिएर अन्तरराष्ट्रिय सम्मेलन भदौ २ र ३ गते आयोजना गरिनेछ।”
साउन ११ गते जेनेभा प्रस्थान गर्नुभएका सभामुख घिमिरे साउन १४ देखि १७ गतेसम्म आयोजित उक्त सम्मेलनमा सहभागी हुनुहुन्थ्यो। सम्मेलनको क्रममा उहाँले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्नुभएको थियो।

