नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश

काठमाडौँ, १६ साउन – नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको आज ७० औँ वार्षिकोत्सव मनाइँदैछ। सन् १९५५ अगस्ट १ (विक्रम संवत २०१२ साउन १६) मा दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

यो अवसरमा काठमाडौं र बेइजिङमा विविध कार्यक्रम आयोजना गरी सम्बन्धको ७ दशकको यात्रालाई स्मरण गरिएको छ।

नेपाल–चीन सम्बन्धको ऐतिहासिक जरा तिब्बती राजा स्रोङचेन गम्पो र नेपाली राजकुमारी भृकुटीको विवाहसम्म पुग्ने भए पनि आधुनिक कूटनीतिक सम्बन्ध १९५५ बाट औपचारिक रूपमा सुरु भएको हो।

पूर्वराजदूत राजेश्वर आचार्यका अनुसार, नेपाल–चीन सम्बन्ध पञ्चशीलकासिद्धान्त—शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान, अखण्डता, सम्प्रभुता, अहस्तक्षेप—मा आधारित छ, र दुवै देशले यसलाई उच्च प्राथमिकता दिएका छन्।

“चीनले विधिमा आधारित अन्तरराष्ट्रिय शासन प्रणाली, शान्ति, सुरक्षा र साझा भविष्य निर्माणमा जोड दिँदै आएको छ। यस्तो विश्वशक्ति राष्ट्रसँगको सम्बन्धबाट नेपालले अधिकतम लाभ उठाउँदै समृद्धिको दिशामा अघि बढ्नुपर्छ।”

संबन्ध स्थापनाको ७० औँ वर्ष प्रवेशको अवसरमा चीनका राजदूत छन साङले आज साँझ काठमाडौंमा स्वागत समारोहको आयोजना गर्न लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली त्यस समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

Facebook Comments Box