चक्रे मिलनको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना ७ दिन हिरासतमा

काठमाडौँ, १६ साउन – काठमाडौँको महाराजगञ्जस्थित एक होटलमा आयोजना गरिएको जन्मदिन पार्टीबाट पक्राउ परेका १९ जनालाई प्रहरीले कम्तीमा ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएको छ।

‘गुण्डा नाइके’ का रूपमा चिनिने चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पार्टीमा भएको हुल्लडबाजी र अभद्र व्यवहारका कारण प्रहरीले उनीसहित अन्यलाई पक्राउ गरेको हो। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबार उनीहरूलाई हिरासतमा राख्ने म्याद स्वीकृत गरेको हो।

४७ जना पक्राउ, २८ जना छाडिए

प्रहरीले मध्यरातमा होटलबाट ४७ जनालाई नियन्त्रणमा लिए पनि प्रारम्भिक स्क्रिनिङपछि २८ जनालाई छाडिएको थियो। बाँकी १९ जनामाथि ‘अभद्र व्यवहार’ को कसुरमा अनुसन्धान गरिने भएको हो।

कानुन अनुसार, पहिलोपटक अभद्र व्यवहारमा मुछिएकाहरूको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने प्रावधान छ।

काठमाडौं प्रहरी परिसरका एसपी कुलदिप चन्दका अनुसार हिरासतमा रहेका १९ जनामा चक्रे मिलनसँगै गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का रहेका छन्।

त्यस्तै यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही पनि अनुसन्धानको दायरामा छन्।

प्रहरीका अनुसार, मध्यरातमा जन्मदिन पार्टी मनाउने नाममा होहल्ला र अनुशासनहीन गतिविधि भएका थिए।
कतिपय पक्राउ परेका व्यक्ति होटलका अन्य ग्राहक वा असंलग्न व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

“विभिन्न पृष्ठभूमिका मानिसहरू त्यहाँ थिए, स्क्रिनिङपछि सम्बन्धित नभएकाहरूलाई छाडिएको हो,”
एसपी चन्दले बताए।

Facebook Comments Box