रुपन्देही–३ को उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
काठमाडौं, १६ साउन – आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ।
आयोगले आज सार्वजनिक सूचना जारी गर्दै साउन २१ गतेदेखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो।
यसअघि आयोगले उपनिर्वाचनका लागि आवश्यक निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ। कार्यतालिकाअनुसार:
-
असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोयन दर्ता हुनेछ।
-
सोही दिन साँझ उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ।
-
असोज २४ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ।
-
कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।
निर्वाचन आयोगका अनुसार, २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत बन्दसूचीमा नाम समावेश भएका व्यक्ति उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।

