मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन सहयोग पुर्‍याउने

मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन सहयोग पुर्‍याउने बताएको छ।

पाटनमा आज आयोजित एक कार्यक्रममा मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले, मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने काममा सहयोग पुर्‍याउने बताउनुभएको हो।

१६औँ राष्ट्रिय मानव अधिकार महाभेलाको प्रतिवेदन तथा दस्तावेजहरू १७औँ महाभेला आयोजक समितिलाई हस्तान्तरण गर्ने कार्यक्रममा अध्यक्ष मगरले मानव अधिकारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो।

उहाँले छाउपडी प्रथाको अन्त्य, बालविवाह रोकथाम, ज्येष्ठ नागरिकका समस्याहरू, र जलवायु न्यायसम्बन्धी विषयमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

आयोगका सदस्य मिहिर ठाकुरले नेपाल सैद्धान्तिक रूपमा मानव अधिकारमैत्री भए पनि व्यवहारिक कार्यान्वयनमा पछि परेको उल्लेख गर्नुभयो। उहाँले सबै निकाय एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

सदस्य लिली थापाले १७औँ महाभेलाको नेतृत्व महिलाले पाएकोमा गर्व व्यक्त गर्दै, आयोगको संरचनामै मानव अधिकार महाभेलाका योजना समावेश गराउन सम्बद्ध संघसंस्थालाई आग्रह गर्नुभयो।

आयोगका सचिव मुरारी खरेलले १६औँ महाभेलासम्मका विषयहरूलाई सारांशमा उतारेर आयोगलाई सुझावस्वरूप पेश गर्न आग्रह गर्नुभयो।

महाभेलाका संस्थापक चरण प्रसाईंले यो मञ्च मानव अधिकारका पक्षमा आवाज उठाउने बलियो माध्यम बन्दै गएको धारणा व्यक्त गर्नुभयो।

उहाँले आगामी डिसेम्बर १०, अर्थात मानव अधिकार दिवसमा सबै अधिकारकर्मी एकजुट भएर आवाज उठाउनु पर्ने उल्लेख गर्नुभयो।

Facebook Comments Box