प्रधानमन्त्री ओलीद्वारा ‘फिफा फर स्कुल’ अभियान शुभारम्भ
काठमाडौँ, १५ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ गर्नुभएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज काठमाडौँको दशरथ रंगशालामा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले उक्त अभियान सुरु गर्नुभएको हो।
अभियान अन्तरगत अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाको सहयोगमा देशभरका करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरण गरिनेछ। अभियानले विद्यालय तहमै खेलकुद संस्कार विस्तार गर्ने उद्देश्य लिएको छ।
शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता खेलकुद क्षेत्रको समग्र विकासमा रहेको उल्लेख गर्दै भक्तपुरको सूर्यविनायकमा नयाँ तथा ठूलो रङ्गशाला निर्माण गरिने घोषणा पनि गर्नुभयो।
कार्यक्रममा एन्फा पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

