आज देशभर मनसुनी प्रभाव, केही स्थानमा मध्यम वर्षाको सम्भावना
काठमाडौँ, १५ साउन – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपासमै रहेको बताइएको छ।
महाशाखाका अनुसार, आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी स्थानहरू र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहने अनुमान छ। मधेस र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पनि एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ।
महाशाखाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। विशेषगरी सहरी र तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेकोले सतर्क रहन र ठूला–साना नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, यातायात (सडक तथा हवाई) क्षेत्रमा असर पर्न सक्ने सम्भावना रहेकाले महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन अनुरोध गरेको छ।

