बागमती प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेटौँडा, १४ साउन – बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दै निवर्तमान दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्नुभएको हो।

निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गर्नुभएको थियो भने एक मत बदर भएको थियो। कुल ३७ जना कांग्रेस प्रदेशसभा सदस्यले मतदानमा सहभागिता जनाएका थिए।

यसअघि भएको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच प्रतिस्पर्धा भएको थियो। त्यसबेला लामाले २१ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने बानियाँले १६ मत पाउनु भएको थियो।

नयाँ परिणामसँगै बानियाँले कांग्रेस प्रदेश संसदीय दलको नेतृत्व ग्रहण गर्नुका साथै बागमती प्रदेश सरकारको नेतृत्वमा नयाँ समीकरण निर्माण हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box