काठमाडौँ महानगरपालिकाद्वारा कक्षा ११–१२ छात्रवृत्तिको दोस्रो मनोनयन सूची सार्वजनिक
काठमाडौँ, १४ साउन – काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्तिको दोस्रो चरणको मनोनयन सूची सार्वजनिक गरेको छ।
महानगरको शिक्षा विभागका अनुसार दोस्रो चरणमा कुल ५५४ जना विद्यार्थी छात्रवृत्तिको लागि छनोट भएका छन्। छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायमा ४१४ जना, व्यवस्थापनमा १०६ जना, कानुनमा ३० जना, शिक्षा संकायमा ३ जना र मानविकीमा १ जना छन्।
कामपा शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञावालीका अनुसार, पहिलो चरणको सूची साउन ६ गते सार्वजनिक भई साउन ९ गतेसम्म सम्बन्धित शिक्षण संस्थाहरूमा भर्ना सम्पन्न भएको थियो। दोस्रो चरणको सूची भने रिक्त सिटमा आवेदनको प्राथमिकताक्रम र कोटाका आधारमा तयार गरिएको हो।
छनोट भएका विद्यार्थीहरूले साउन १५ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना हुनुपर्नेछ। सो मितिभित्र भर्ना नभएमा छात्रवृत्तिमा दाबी गर्न नपाइने स्पष्ट गरिएको छ।
पहिलो र दोस्रो चरणमा मनोनयन हुन नसकेका तर प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीका लागि साउन १६ पछि रिक्त सिटमा भर्नाको लागि नयाँ सूचना प्रकाशित गरिने विभागले जनाएको छ।
मनोनयन सूची विद्यार्थीको योग्यता, आवेदनमा उल्लेख गरिएको प्राथमिकता, र शिक्षण संस्थाको छनोटका आधारमा तयार गरिएको हो। साथै, सामुदायिक विद्यालयका विद्यार्थी, काठमाडौँ महानगरका स्थायी बासिन्दा, र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ।
आरक्षण कोटामा छात्रा, आदिवासी जनजाति, मधेसी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्र, तथा सहिद र बेपत्ता द्वन्द्वपीडित परिवारका विद्यार्थीहरू समावेश छन्।
२०७९ साउन ३ गते सञ्चालन गरिएको प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी भएका थिए। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान, अङ्ग्रेजी (प्रत्येक ३० प्रश्न) र सामान्य ज्ञान (१० प्रश्न) गरी कुल १०० बहुवैकल्पिक प्रश्न समावेश थिए। प्रारम्भिक नतिजा साउन ४ र पुनर्योग नतिजा साउन ६ गते सार्वजनिक भएको थियो।

