मिथिलामा ‘झुला’ पर्व सुरु, मठमन्दिरमा भक्तिभावको रौनक

महोत्तरी, १२ साउन — मधेसको मिथिला क्षेत्रमा साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने ‘झुला पर्व’ आइतबार साँझदेखि सुरु भएको छ। विष्णु–लक्ष्मीको भक्तिमा आधारित यो सांस्कृतिक पर्व मिथिलाको मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ।

पर्वको मुख्य विधिमा विष्णु–लक्ष्मीका अवतार मानिने राम–सीता र कृष्ण–राधाका प्रतिमालाई झुला (कोक्रा, एक प्रकारको कलात्मक पिङ) मा राखेर श्रद्धालुहरूले भक्तिगीत गाउँदै हल्लाउने गर्छन्।

महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट बजागाजासहित डोलीमा राखेर झुलाघरसम्म प्रतिमा लैजाँदै पर्वको उद्घाटन गरिएको हो। जनकपुरको जानकी मन्दिर र मटिहानीको लक्ष्मीनारायण मठ यो पर्वका लागि प्रसिद्ध केन्द्र मानिन्छन्।

पर्व अवधिभर जनकपुर, मटिहानी, र सीमावर्ती भारतका दर्जनौं मठमन्दिरबाट ल्याइएका प्रतिमाहरू झुलाघरमा झुलाइन्छन्। साधुसन्तहरूको उपस्थितिमा भजन–कीर्तन, झुला, मलार, कजरी लगायत मिथिला लोकलयमा आधारित गीत गाइन्छन्।

झुलनोत्सवलाई मिथिलाको सांस्कृतिक मौलिकता झल्काउने पर्वका रूपमा लिइन्छ। मैथिल परम्परा अनुसार सीताको माइती भएकाले ज्वाइँ रामलाई प्रसन्न गराउन यो पर्व मनाइने विश्वास छ।

लक्ष्मीनारायण मठका महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार विसं १७८७ तिर सन्त सुरकिशोर दासले यो पर्वको संस्थागत शुरुआत गरेका थिए।

जनकपुर नजिकैको मणिपर्वत (पूर्वकालमा राजा जनकले राम–सीताको विवाहमा दाइजोस्वरूप दिएको रत्नहरूको थुप्रो रहेको भनिने स्थान) बाट पूजा गरेर झुला पर्वको आरम्भ गरिन्छ।

साउन पूर्णिमाका दिन झुलनाको डोरी चुडाएर पर्वको समापन गरिन्छ। मैथिल लोकसंस्कृतिका अध्येता ध्रुव रायका अनुसार यो पर्व मिथिलाको सांस्कृतिक सम्पदाका रूपमा विशेष महत्व राख्छ।

Facebook Comments Box