कोशी प्रदेशसभा बैठकः निवृत्तभरणसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सम्पन्न
विराटनगर, १२ साउन – कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सम्पन्न भएको छ।
बैठकमा चार जना प्रदेशसभा सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए। छलफलका क्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले कर्मचारीहरूको व्यवस्थापनमा योगदान दिने उद्देश्यले विधेयक ल्याइएको जानकारी दिनुभयो।
उहाँले २०७६ साल साउन १ गतेदेखि कर्मचारीहरूका लागि कोष स्थापना गर्नुपर्ने कानुनी प्रावधानअनुसार विधेयक आएको स्पष्ट पार्नुभयो। यद्यपि, कोषको रकम कहाँ जम्मा गर्ने भन्ने विषयमा भने अहिल्यै निष्कर्षमा पुग्न नसकिएको उहाँले बताउनुभयो।
मन्त्री मगरले प्रस्तुत विधेयकमार्फत स्थानीय तहका कर्मचारीहरूका लागि समेत एकरूपता कायम गर्न सजिलो हुने विश्वास व्यक्त गर्नुभयो।
सभामा ‘सामाजिक विकास संस्था ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक पनि सामाजिक विकासमन्त्री पाँचकर्ण राईले पेस गर्नुभएको थियो, जुन प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो।
शून्य समयमा विभिन्न सांसदहरूले क्षेत्रीय समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए। प्रदेशसभा सदस्य रामप्रसाद महतो, रामदेव यादव र राजन किराँतीले खडेरीका कारण किसानले समयमा धान रोप्न नपाएको उल्लेख गर्दै सिँचाइको सहुलियत र कृषि मिटरको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
सदस्य गोम्बु शेर्पाले सगरमाथा कोशी प्रदेशमा पर्ने भए पनि त्यस क्षेत्रबाट सङ्कलन हुने राजस्व सङ्घीय सरकारको भागमा जाने र फोहोर व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको भन्दै दुःख व्यक्त गर्नुभयो।
यस्तै, सदस्य गणेशप्रसाद उप्रेतीले पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलसँग सम्बन्धित घूस प्रकरणबारे छानबिनको माग गर्नुभयो।
सदस्य भक्तिप्रसाद सिटौलाले झापाको विर्तामोडस्थित यातायात कार्यालयमा स्वास्थ्य परीक्षणका लागि खटिएका कर्मचारीहरूको योग्यता अभाव रहेको बताउँदै चिकित्सकहरूले सेवाग्राहीहरूसँग तोकिएकोभन्दा बढी शुल्क लिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो।प्रदेशसभाको अर्को बैठक भोलि (मङ्गलबार) दिउँसो १ बजे बस्ने तय भएको छ।

