आज देशैभर मौसम बदली हुने र सातै प्रदेशमा पानी पर्ने, एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १८ साउन – आज पनि देशैभर मौसम बदली हुने र सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय र हावाहुरीजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार उपत्यकामा मध्याह्नपछि वर्षा हुने सम्भावना देखिएको छ। ‘अहिले केही बेरपछि मौसम खुले पनि मध्याह्नपछि वर्षा हुने सम्भावना छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘काठमाडौं उपत्यकामा आज हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ, भारी वर्षा हुने देखिँदैन।’

