पश्चिम चितवन र माडीमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध
चितवन, ११ साउन — चितवनको पश्चिम क्षेत्र र माडीका विभिन्न स्थानमा आज (शनिबार) ६ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले अत्यधिक विद्युत् लोडका कारण अस्थायी तालिका सार्वजनिक गर्दै आपूर्ति अनियमित हुने जानकारी दिएको हो।
चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार, १३२/३३ केभी सबस्टेशनबाट सञ्चालित ३३ केभी डगकन्डक्टर तारमा अधिकतम ३०० एम्पियर मात्र प्रवाह गर्न मिल्ने भए पनि हाल ४५० एम्पियरभन्दा बढी लोड पुगेकाले आपूर्ति व्यवस्थित गर्न बाध्य भइएको हो।
श्रेष्ठका अनुसार, गर्मीमा विद्युत् प्रयोग अत्यधिक बढ्नुका साथै वर्षा नहुँदा सिँचाइमा निर्भरता बढेकाले माग उच्च भएको हो। समस्या समाधान गर्न वितरण केन्द्रले एक हप्ताभित्र लोड व्यवस्थापनको उपाय गर्ने जनाएको छ।
विद्युत् अवरुद्ध हुने क्षेत्र र समयतालिका यसप्रकार छ:
| क्षेत्र/फिडर | विद्युत् बन्द समय |
|---|---|
| नारायणी–माडी फिडरहरू | बिहान ६:००–९:०० दिउँसो ३:००–६:०० |
| मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू | बिहान ९:००–१२:०० साँझ ६:००–९:०० |
| जगतपुर–रामपुर फिडरहरू | दिउँसो १२:००–३:०० राति ९:००–१२:०० |
नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले दीर्घकालीन समाधानका लागि बसेनी सबस्टेशनमार्फत वैकल्पिक ३३ केभी प्रसारण लाइन निर्माणको काम अघि बढिरहेको जानकारी दिनुभयो।

