सुर्खेतमा करेन्ट लागेर एक दम्पतीको मृत्यु

सुर्खेत, ९ साउन – सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित आफ्नै घरमा विद्युतीय मेसिनमार्फत घाँस काट्ने क्रममा करेन्ट लागेर ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार बिहान घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी मोहनजङ्ग बुढथापाले जानकारी दिए।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मेसिनमा जडान गरिएको विद्युत् लाइनमा समस्या आएर दुर्घटना भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Facebook Comments Box