बाढीपहिरो र मर्मतका कारण बागमती–गण्डकीका सडक प्रभावित
काठमाडौँ – बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्ड बाढी, पहिरो र सडक मर्मतका कारण प्रभावित भएका छन् । सोमबार बिहान ६ बजेसम्म प्राप्त विवरणअनुसार केही सडकमा यातायात पूर्ण रूपमा बन्द छ भने केही खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।
काभ्रेपलाञ्चोकस्थित बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा भदौ १६ गतेदेखि अर्को सूचना नभएसम्म समय तालिका मिलाएर सवारी सञ्चालन गरिएको छ । साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइनेछ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको अवस्था हेरी अन्य सवारी सञ्चालन गरिने व्यवस्था गरिएको छ ।
रसुवाका मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा भदौ ८ गतेदेखि लामो समयसम्म रहने गरी यातायात पूर्ण रूपमा बन्द गरिएको छ । मुख्य राजमार्गका अन्य क्षेत्रमा समेत भदौ १० गतेदेखि अर्को सूचना नभएसम्म पूर्ण अवरोध कायमै रहेको छ ।
नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढीपहिरोको जोखिमका कारण भदौ १ गतेदेखि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । पसाङ ल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा भने भदौ १० गतेदेखि बाढीका कारण यातायात पूर्ण रूपमा अवरुद्ध छ ।
धादिङस्थित पृथ्वी राजमार्ग पनि पहिरोका कारण प्रभावित भएको छ । बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गतेदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ । सोही राजमार्गको बेनिघाट रोराङ–१० ज्वाडखोला र शीतलबजार क्षेत्रमा पहिरो हटाएपछि एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ ।
यसैगरी, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा सडक मर्मतको काम भइरहेकाले सवारीको चाप हेरी एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ । गण्डकी प्रदेशको मनाङस्थित चामे–बेसिसहर सडकखण्डअन्तर्गत नासो गाउँपालिका–३ धारापानीमा भदौ २५ गतेदेखि सडक निर्माणको काम जारी छ । निर्माणका कारण हाल उक्त सडकमा साना सवारी साधन मात्र सञ्चालन गर्न दिइएको छ ।

