एमाले केन्द्रीय कमिटी बैठकमा संगठन, सदस्यता र भण्डारीको भूमिकाबारे छलफल

काठमाडौँ, ६ साउन – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौँ केन्द्रीय कमिटीको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक भूमिका, संगठनात्मक व्यवस्थापन र सदस्यता विस्तारलगायत विषयमा छलफल जारी छ।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठकको दोस्रो दिन उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्तावमाथि ५८ जनाले धारणा राखेका छन्। पहिलो दिन ४९ जनाले बोलिसकेका छन् भने अझै ७७ जनाको धारणा आउन बाँकी छ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण तथा सक्रिय राजनीतिमा पुनः संलग्न हुने सम्भावनाबारे केन्द्रीय सदस्यहरूले धारणा राखेको बताए।

“निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई संविधानअनुकूल कार्यकारी बनाउने प्रस्ताव उठेको छ,” गौतमले भने, “पार्टीको सदस्यता एक लाख ३९ हजारले बढेको छ, जुन करीब २८ प्रतिशत वृद्धि हो।”

बैठकमा मूल्यवृद्धि, सरकारको प्रभावकारिता, र जनतासँगको जोडबारे पनि केन्द्रीय सदस्यहरूले आलोचना तथा सुझाव प्रस्तुत गरेका छन्।

उपाध्यक्ष पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव पोखरेलको संगठनात्मक प्रतिवेदन यसअघि सचिवालय तथा पोलिटब्यूरो बैठकबाट पारित भइसकेको हो।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक समापनअघि आजै विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठक गत सोमबारदेखि सुरु भएको हो।

Facebook Comments Box