बराहक्षेत्रमा खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु
सुनसरी, २५ कात्तिक – बराहक्षेत्र नगरपालिकाले गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रणका लागि नगर क्षेत्रभर निःशुल्क खोप अभियान सुरु गरेको छ।
‘गाईभैँसीमा खोरेत रोगविरुद्धको निःशुल्क खोप लगाऔँ, पशुजन्य उत्पादनको निर्यातमा टेवा पु¥याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ’ भन्ने नाराका साथ कात्तिक २३ गतेदेखि सुरु भएको यो अभियान मङ्सिर २३ गतेसम्म नगरका सबै वडामा सञ्चालन हुने नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो।
नगर प्रमुख कार्कीका अनुसार कृषि तथा पशुपालन क्षेत्र नगरको अर्थतन्त्रको महत्वपूर्ण आधार हो। उहाँले भन्नुभयो, “खोरेत नियन्त्रण अभियानले कृषकको उत्पादन वृद्धि, पशु स्वास्थ्य सुरक्षा र आयआर्जनमा सकारात्मक प्रभाव पार्नेछ।”
उहाँले थप्नुभयो, “नगरपालिकाले कृषकलाई आत्मनिर्भर बनाउँदै कृषिजन्य उत्पादन बजारसम्म पु¥याउने वातावरण निर्माणमा प्रतिबद्धता जनाएको छ।”
नगरपालिकाको पशु सेवा शाखाका प्रमुख विमल अधिकारीका अनुसार यो अभियानले नगरका पशुपालक कृषकहरूलाई खोरेत रोग नियन्त्रणमा ठुलो सहयोग पुर्याउनेछ।
अभियान भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवा, उद्योग, कृषि तथा पशुपन्छी मत्स्य विकास निर्देशनालय, कोशी प्रदेश विराटनगरको सहयोगमा र बराहक्षेत्र नगरपालिकाको पशु सेवा शाखा, चक्रघट्टी सुनसरीको आयोजनामा सञ्चालन गरिएको हो।

