गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा १ लाख २२ हजारभन्दा बढी पर्यटक
गोरखा, ५ साउन – गोरखा दरबार सङ्ग्रहालयमा आर्थिक वर्ष २०८१/८२ मा एक लाख २२ हजार ७३३ जना पर्यटकले अवलोकन गरेका छन्। गोरखा दरबार परिसरभित्र रहेको यो सङ्ग्रहालयमा आन्तरिक तथा विदेशी पर्यटकको उल्लेखनीय उपस्थिति देखिएको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो।
अघिल्लो वर्ष २०८०/८१ मा एक लाख १९ हजार १८७ जना पर्यटकले भ्रमण गरेका थिए। कार्कीका अनुसार, “सङ्ग्रहालयमा आउने पर्यटकको सङ्ख्या वर्षेनि बढ्दै गएको देखिन्छ। यस वर्ष अहिलेसम्मकै सर्वाधिक पर्यटक आएको हो।” गत आर्थिक वर्षमा सङ्ग्रहालय हेर्न आएकामध्ये ८४ हजार २५७ जना आन्तरिक पर्यटक थिए भने ३६ हजार २९८ जना विद्यार्थीले शैक्षिक भ्रमण गरेका थिए।
यस्तै, सार्क राष्ट्रका १७५ जना र अन्य तेस्रो मुलुकबाट २,००३ जना विदेशी पर्यटकले पनि भ्रमण गरेका थिए। गोरखा दरबार सङ्ग्रहालय विसं २०६५ मा सर्वसाधारणका लागि खुला गरिएको हो। करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको इतिहास अध्ययनका लागि महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित छ।
सङ्ग्रहालयमा राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, एकीकरणकालमा प्रयोग गरिएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिका भेषभूषा र साँगीतिक उपकरणहरू प्रदर्शित छन्। सङ्ग्रहालयभित्र रहेका वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षसहितका १२ वटा प्रदर्शनी कक्ष पर्यटकको आकर्षणको केन्द्र बनेका छन्। दरबारको परम्परागत वास्तुकला र ऐतिहासिक महत्वले यहाँ घुम्न आउनेलाई लामो समयसम्म तान्ने गरेको प्रमुख कार्कीले बताउनुभयो।

