किरात संस्कृति झल्किने ‘दिमालुङ स्मारक उद्यान’ संरक्षित, पर्यटनसँग जोड्ने योजना
भोजपुर, ५ साउन — किरात संस्कृति संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिका–२ र ३ मा अवस्थित ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण तथा विकास गरिएको छ। गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा निर्माण गरिएको यो स्मारक उद्यान किरात राई समुदायको ऐतिहासिक र धार्मिक आस्थासँग जोडिएको स्थल हो।
उद्यान क्षेत्रलाई संरक्षित गर्दै घेराबारा, ‘दिमा’ अर्थात् बोजु र ‘लुङ’ अर्थात् ढुङ्गा रहेको स्थलमा विशेष स्मारक समेत निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार, “दिमालुङ उद्यान किरात संस्कृतिको संरक्षण मात्र होइन, पर्यटकीय गन्तव्यका रूपमा विकासको एक प्रयास हो।”
स्मारक नजिकै ‘जोर आहाल–शङ्खामचुली–दिमालुङ पदमार्ग’ समेत निर्माण गरिएकाले यस क्षेत्रको पर्यटन सम्भावना उच्च रहेको उहाँले बताउनुभयो। गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार, उद्यानको नाम किरात भाषाबाट आएको हो — ‘दिमा’ को अर्थ बोजु (हजुरआमा) र ‘लुङ’ को अर्थ ढुङ्गा।
“किरात इतिहाससँग जोडिएको विशेष ढुङ्गाको संरक्षण गर्दै स्मारक निर्माण गरिएको छ,” अध्यक्ष राईले भन्नुभयो, “यस स्थानको ऐतिहासिक महत्त्वलाई जीवन्त राख्दै पर्यटनसँग जोडेर विकास गर्न लागिएको हो।”
करीब चार रोपनी क्षेत्रफलमा स्मारक र १५ रोपनीमा विस्तारित उद्यान निर्माण गरिएको छ। किरात समुदायले हरेक वर्ष दुईपटक यहाँ साकेन्वा नाच्ने, पूजाआजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन्।
हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टका अनुसार, योजनाबद्ध ढंगले संरक्षित ऐतिहासिक स्थलले स्थानीय आर्थिक गतिविधिमा टेवा पु¥याउने सम्भावना राख्छ। “यस्ता सांस्कृतिक थलोको प्रचारप्रसार गरेर पर्यटनसँग जोड्दा गाउँपालिकाको आम्दानी स्रोतसमेत बन्न सक्छ,” उहाँले बताउनुभयो।

