सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही सवारीसाधनमा क्षति

काठमाडौं,२० जेठ – सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकस्थित सवारी शाखामा शुक्रबार साँझ आगलागी भएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार आगलागीबाट अतिरिक्त महानिरीक्षक (एआईजी) स्तरका अधिकारीले प्रयोग गर्ने एउटा गाडीसहित ८–९ वटा सवारीसाधनमा क्षति पुगेको छ। आगलागीको कारणबारे यकिन हुन नसके पनि मोटरसाइकलबाट आगो सुरु भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्ट ले आगलागीबाट केही विद्युतीय सवारीसाधन प्रभावित भएको जानकारी दिँदै करिब आधा घण्टाभित्र आगो नियन्त्रणमा लिइएको बताए। उनका अनुसार आगलागी भएको स्थान नजिक एआईजीको सवारीसाधन रहे पनि त्यसमा कुनै क्षति पुगेको छैन। घटनाको कारण र क्षतिको यथार्थ विवरणबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

Facebook Comments Box