भोजपुरमा कालोपत्र सडक महिना दिनमै भत्कियो, स्थानीय आक्रोशित

भोजपुर, ३ साउन – भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित गुम्बा–कोट–दिप्सा–पाँचधारे सडक कालोपत्र गरिएको एक महिनामै भत्किएको छ। बीच सडकमा घाँससमेत उम्रिन थालेपछि स्थानीयवासीहरू निर्माणको गुणस्तरप्रति आक्रोशित भएका छन्।

टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार गत असार महिनामा आरएनआरआर कम्पनीले शून्य विन्दु गुम्बाबाट एक किलोमिटर सडक कालोपत्र गरेको थियो। तर, छोटो समयमा नै सडक उप्किनु र झार पलाउनुले निर्माणमा लापरवाही भएको स्पष्ट देखिएको उहाँको भनाइ छ।

“सडक बनाएको महिना दिन पनि नपुग्दै भत्किएको छ। यो लापरवाही र गुणस्तरहीन कामको नमूना हो,” वडाध्यक्ष नेपालले बताए। टेम्केमैयुङ–७ का वडाध्यक्ष बालबहादुर खड्काले पनि सडक निर्माणमा गम्भीर त्रुटि भएको भन्दै दोषीलाई कारबाहीको माग गर्नुभयो। “झार पलाएको सडक देख्दा विकास होइन, बेइमानीको नतिजा देखिन्छ,” उहाँले भन्नुभयो। स्थानीयबासी शरण राईले कालोपत्रसँगै नाली व्यवस्था समेत नगरेको भन्दै असन्तुष्टि जनाए।

“सुरुमा हामी उत्साहित थियौँ, अहिले निराश छौँ,” उहाँले भने।यस सडकले टेम्केमैयुङ गाउँपालिकाका चार वडा र खोटाङ जिल्लालाई जोड्दछ। सुरुमै यस्तो अवस्था देखिएकोले दीर्घकालीन असर पर्ने स्थानीयको चिन्ता छ। योजना बोर्ड नटाँसिएकाले बजेट, अवधि र ठेकेदार कम्पनीको विस्तृत विवरणसमेत जनप्रतिनिधि र स्थानीयलाई जानकारी नभएको गुनासो पनि स्थानीयहरूले गरेका छन्।

Facebook Comments Box